
जिफन्टको छैटौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद उदघाटन समारोहलाई बुधबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अविश्वासको प्रस्ताव भन्दा पनि आग्रह र इर्ष्या नामको एउटा प्रस्ताव दर्ता भएको छ । यो सरकार कायम रहे बुढाबुढी, बालबालिका, युवा सबै उसैको हुने भो भन्ने पिरले अविश्वास नामको चिन्ता प्रस्ताव दर्ता भएको हो ।’
नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको गृहकार्य गरेको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । ओलीले आर्थिक विधेयकलाई नियमित कार्यसूचीबाट हटाएर अविश्वासको प्रस्तावमाथि छलफलको मिति सभामुखले तोकेको भन्दै असन्तुष्टि पनि जनाए ।
सभामुख ओनसरी घर्तीको समेत मिलेमतोमा महत्वपूर्ण एजेण्डाहरु गायब पारिएको ओलीले आरोप लगाए । ‘संसदीय प्रणालीमा आर्थिक विधेयक रोकेर जाने, एजेण्डा गायब बनाउने र सबै राष्ट्रिय एजेण्डालाई हटाएर त्यसको हामीलाई केहि मतलब छैन भन्दै एजेण्डा गायब बनाएका छन् । भोलि एघार बजे ति एजेण्डा खोजी गर्नुपर्ने हुनसक्छ ।’
संसद मनपरी गर्ने ठाउँ होइन भन्दै उनले बलजफ्ती गरेर अगाडि नबढ्न चेतावनी दिए । ‘बलजफ्ती नगरे हुन्छ मेरो विनम्र अनुरोध छ । संसद मनपरी गर्ने ठाउँ होइन,’ प्रधानमन्त्री ओलीले भने ।
माओवादीले सरकार बनाउन बहुमत पुर्याउन नसकेपछि बिभिन्न स्थान चहार्दै हिँडेको भनेर ओलीले व्यंग्य पनि गरे ।
‘हुल बाँधेर, दौडेर गएर अविश्वासको प्रस्ताव दर्ता गरायो । आफ्नो एक तिहाइ मत पनि छैन । सरकार बनाउन ५० प्रतिशत बढी मत चाहिन्छ,’ ओलीले कसैको नाम नलिइकन व्यंग्यात्मक शैलीमा भने, ‘आफ्नो बहुमत नपुगेपछि बाटोमा हिँड्दा थुम्का भेटे पनि देउराली भेटे पनि टाउको-टाउकोमा फूलपाती चढाएर हिँड्नुपर्ने अवस्था छ ।’
ओलीले अघि भने, ‘उनीहरुले हामीसँग दुई तिहाई बहुमत छ भनेका छन् । त्यसो भए संविधान संशोधन गरे भैगो नि त ।’
अविश्वासको प्रस्ताव दर्ता गराउने अनि राजीनामा माग्ने गरिएको भन्दै उनले विपक्षी दलहरुप्रति व्यंग्य गरे । उनले जायज माग सम्बोधन हुने तर नाजायज माग पूरा नहुने प्रष्ट्याए ।
श्रोत : http://www.onlinekhabar.com/
Post a Comment